काठमाडौँ । बहुप्रतिक्षित फिल्म ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागिसमेत अधिकार लिएको छ ।
यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र आई र ‘यू इन्टरटेनमेन्ट’ले खरिद गरेका छन् । युकेबाहेकका युरोपियन देशहरूमा ‘मामा इभेन्टस्’ र ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट,’ र जापानमा ‘सेवा एलएल कम्पनी’ले ‘ऊनको स्वीटर’ प्रदर्शन गर्ने चलचित्रका निर्देशक नवीन चौहानले बताए ।
यी सबै देशहरूमा नेपालको मितिमा नै एकसाथ रिलिज हुने निर्देशक चौहानले जनाए। यो फिल्म २०८२ सालको वैशाख २६ गते रिलिज हुँदैछ ।
१२ दिन अघि रिलिज भएको गीत ‘मखमली’ले रिलिजको १० दिनसम्म लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको थियो । हाल यो गीत करिब ४० लाख भ्यूजसहित नेपालमा दोस्रो स्थानमा छ । नेपालमा मात्र नभई यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेका माल्टा, कतार, अस्ट्रेलिया, युएई, कुवेत लगायतका देशहरूमा पनि ट्रेन्डिङको शीर्ष स्थानसम्म पुगेको थियो ।
यो चलचित्र घोषणाताका सार्वजनिक गरिएको ‘फूल’ शीर्षकको गीत १ करोड ६० लाख माथि भ्यूज सहित चर्चामै छ। यी दुवै गीतका गायक तथा सङ्गीतकार प्रसिद्ध गायक तथा सङ्गीतकार सुजन चापागाईँ हुन् ।
आर्टमाण्डू प्रालिको निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ । रासस