काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) मा मंसिर २४ देखि २६ गतेसम्म तीनदिने अर्डुइनो (Arduino) वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ । केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । वर्कशपमा सहभागीहरूले अर्डुइनोको आधारभूत संरचना, यसको प्रयोगका विधिहरू र प्रोजेक्ट निर्माणका सीप सिकेका छन् ।
कार्यक्रममा रमाइलो थप्न विभिन्न खेलहरू पनि आयोजना गरिएका थिए । यी खेलहरूले सहभागीहरूको उत्साह बढाउनुका साथै विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो । यो वर्कशप आगामी पुस ४ गते आयोजना हुने केईसी लाइट २०८१ का लागि पूर्वतयारीको रूपमा आयोजना गरिएको केईसी इलेक्ट्रोनिक्स क्लबले जानकारी दिएको छ ।
पुस ४ गते केईसी लाइट २०८१ हुँदै
पुस ४ गते केईसी लाइट २०८१ भव्य रूपमा आयोजना गरिनेछ । यसमा इलेक्ट्रोनिक्स, कम्प्युटर र सिभिल इन्जिनियरिङका रोचक र नयाँ प्रोजेक्टहरूको प्रदर्शनी गरिनेछ । साथै, विभिन्न रमाइलो प्रतियोगिताहरूले कार्यक्रमलाई अझ रोचक बनाउनेछन्। इलेक्ट्रोनिक्स क्लबले रु ३०,००० को पुरस्कार राशीसहित सिर्जनात्मक र नवीन प्रोजेक्टहरूको खोजी गरिरहेको छ। जुनसुकै कलेजका विद्यार्थीहरूले यस कार्यक्रमका सबै प्रतियोगितामा भाग लिन सक्नेछन् ।

रोबोटिक प्रतियोगिताहरूमा प्रतिस्पर्धा
पुस ३ र ४ गते रोबो सुमो, रोबो सकर, रोबो रेस र लाइन फलोइङ रोबोट जस्ता रोबोटिक प्रतियोगिताहरू आयोजना गरिनेछन्। यी प्रतियोगिताहरूले विद्यार्थीहरूलाई प्रविधि र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने लक्ष्य राखेका छन्। रोबोटिक प्रतियोगिताहरूका लागि कूल रु १,३५,००० को पुरस्कार राशी तोकिएको छ । इच्छुक सहभागीहरूले यहाँ क्लिक गरेर अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् ।
अर्को आकर्षण: ह्याक–अ–लाइट ह्याकाथन
मंसिर २८ गतेदेखि ३२ घण्टे ह्याकाथन ह्याक-अ-लाइट आयोजना हुनेछ। यो प्रतियोगिताले विद्यार्थीहरूलाई सिर्जनशील विचारलाई प्रविधिको माध्यमबाट उपयोग गरी विविध समस्या समाधान गर्ने अवसर प्रदान गर्नेछ। यो ह्याकाथनका लागि रु ५०,००० भन्दा बढी पुरस्कार राशी तोकिएको छ ।
अन्य क्लबहरूको सक्रियता
इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित वर्कशपका अतिरिक्त कम्प्युटर क्लबले React र SQL वर्कशपहरू आयोजना गरिसकेको छ भने सिभिल क्लबले पनि आफ्ना विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै गतिविधिहरूले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह थपेको छ। विद्यार्थीहरूले आगामी कार्यक्रमहरूको प्रतीक्षामा उच्च चासो देखाएका छन् । आयोजकले केईसी लाइट २०८१को तयारी तीव्र गतिमा चलिरहेको जानकारी दिएका छन् ।




















