पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज पाटन मंगलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ ।’
२०२७ सालमा काठमाडौँ आएपछि आफू पनि काठमाडौंकै बासिन्दा भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले यहाँको भाषा, संस्कृति प्रति प्रेम रहेको पनि बताए । ‘मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआएपछि यसभाषा प्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनु पर्छ’, उनले भने ।
उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्छ जनाउँदै हामीले यसका गौरव गर्नुपर्छ भन्नेमा जोड दिए ।
सांसद प्रेमबहादुर महर्जनले नेपाल भाषालाई विद्यालय तहमा पठनपाठनमा नेपाल भाषालाई देशैभर ऐच्छिक भाषाका रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गरे ।
बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रभावकारी बनाउन तिनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकार राष्ट्रिय विभूति शङ्खधर शाखाले नेपाल मण्डलका विपन्न जनताको ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको जानकारी दिए ।
विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो । त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो । (रासस)