काठमाडौं । चुरे तराइ मधेश क्षेत्रको प्राकृतिक श्रोतहरु भुमि, पानी, वनस्पति र जैविक विविधताको दिगों व्यवस्थापन र संरक्षण सुनिश्चित गरी जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने, चुरे दोहन रोक्न उद्देश्यले स्थापना भएको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण समिति नै चरम दोहनमा परेको छ ।
चुरे संरक्षण क्षेत्र अन्तर्गत तराई/मधेशका ४३० स्थानीय तह पर्दछन् । ती स्थानीय तहले कुनै न कुनै बहानामा चुरे क्षेत्र दोहन गरिरहेका छन् । तर यसमा बलियो अनुगमन भएको छ । अनुगमनमा गएकाहरु पनि गोजी भरेर, मुख मिठा गरेर, आँखा चिम्लिएर फर्किने गरेको स्थानीयहरुको गुनासो छ । चुरे विनाशले वातावरणमा गम्भीर असर पुगेको छ भने खानेपानीको चरम अभाव हुँदै गएको छ ।
चालु आर्थिक वर्षका लागि मात्रै सरकारले चुरे संरक्षणका लागि एक अर्बभन्दा बढी बजेट छुट्याएको छ । तर समितिले चुरे संरक्षणमा ठोस काम गर्न सकेको छैन । समितिको वर्तमान नेतृत्व भने चुरे संरक्षणमा भन्दा पनि पदको दुरुपयोग गरी भ्रष्टाचार र विदेश भ्रमणमा लिप्त भएको गुनासो समितिका सदस्यहरुले नै गर्दै आएका छन् । तर ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै समितिका अध्यक्ष डा. किरण पौडेल समितिको नीतिनियम, उद्देश्य, कार्यविधि विपरितका कार्य गरिरहेका छन् ।
चुरे समितिको आर्थिक कार्यविधि नियामावली २०७१ मा समितिको अध्यक्षले अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरको फिल्ड भ्रमण गर्दा नेपाल सरकार मन्त्रीस्तरबाट स्वीकृती लिनुपर्ने र सदस्यले अध्यक्षबाट स्वीकृती लिनुपर्ने प्राबधान रहेको छ । तर पद दुरुपयोग गरी चुरे अध्यक्ष पौडेलले आफ्नो भ्रमण आदेश नियम विपरित आफै स्वीकृत गरी विगत साढे तीन वर्षमा लगभग ३० लाख रकम भ्रमण भत्ताको नाममा हिनामिना गरेको र इन्धन बापत थप रकम हिनामिना गरेको अभिलेख समितिको लेखापरीक्षणमा देखिएको छ ।
यस अघिका रामेश्वर खनाल र वीरेन्द्र यादव समिति अध्यक्ष हुँदा नियम संगत रुपमा उनीहरुले तत्कालिन बन मन्त्रीलाई आफ्नो भ्रमण आदेश स्वीकृत गराई, फिल्ड अनुगमनमा गई भ्रमण भत्ता बुझेको अभिलेख समितिमा छ । तर हालका चुरे अध्यक्ष पौडेलले समितिको वैठकमा निर्णय नगराई, मन्त्रीको स्वीकृति नलिई फिल्ड भ्रमण मात्र होइन, विदेश भ्रमण समेत गर्ने गरेपछि समितिका सदस्यहरुले त्यस्तो नगर्न आग्रह गर्दा ‘सबै तिर म आफै मिलाउछु, महालेखा, कोलिनिका, अख्तियार, सतर्कता मिलाउँछु’ भन्दै आफ्नो भ्रमण आफै स्वीकृत गर्ने गरेको र वोर्ड सदस्यहरुलाई भने बोर्ड गठन आदेश अनुसार तोकिएको इकाइमा जान भम्रण आदेश अस्वीकृत गरी अध्यक्ष पौडेल आफै ति इकाइहरुमा गएर योजना स्वीकृत, पैसा निकासालगायतका वहानामा असुली गर्ने र समितिबाट भ्रमण भत्ता लिने जस्ता भ्रष्टाचारमा तल्लिन भएको भन्दै अनुसन्धान र कारवाहीका लागि समितिका बोर्ड सदस्य डा. भेषराज आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।
त्यस्तै चुरे क्षेत्र भित्र पर्ने भरतताल निर्माण गर्दा चुरे क्षेत्र विनास र अवैध उत्खनन गरिएको छ । यस विषयलाई चुरे समितिबाट उठान हुन पर्छ भन्दै बोर्ड सदस्यको हैसियतले बोर्ड वैठक र अन्य वैठकहरुमा बारम्बार प्रस्ताव राख्दा पद दुरुपयोग गरी चुरे अध्यक्ष पौडेलले भरतताल निर्माण ठिक छ भन्दै हिडेको सदस्य आचार्यले बताएका छन् ।
अध्यक्ष पौडेलमाथि छानविनको माग गर्दै सदस्य आचार्यले अख्तियारमा दिएको निवेदनमा भनिएको छ –“भरतताल निमार्णको विषय ८/९ महिना पहिले पत्रपत्रिकामा विवादको विषय बन्दा चुरे अध्यक्ष पौडेलले भरताल निर्माणका बिचौलियाहरुसँग मिली बर्दिबासको होटल गौतममा बसी आर्थिक चलखेल गरी चुरे समिति तपाईहरुको पक्षमा छ, म तपाईहरुको पक्षमा छु भन्दै हिडेको, भरतताल निर्माण भएको उक्त क्षेत्र मैले हेर्दै आएको जनकपुर कार्यक्रम कार्यन्वयन इकाई अन्र्तगत रहेको र मलाई त्यस क्षेत्रका चुरे अभियन्ताहरुले यस विषयको लागि बारम्बार बोलाउँदा र त्यहाँ जानको लागि मैले पेश गरेको भ्रमण आदेश चुरे अध्यक्ष पौडेलले अस्वीकृत गरिदिएर देखादेखि उनिहरुसँग मिलेको अवस्था छ ।’
समितिमा भएको भ्रष्टाचारको विरोध गर्दा र समितिको उद्देश्य अनुसार काम गरौं भन्दा उल्टै सदस्यहरुमाथि जाइलाग्ने गरेको गुनासो सदस्यहरुको छ । समितिमा अध्यक्ष पौडेलले पदको चरम दुरुपयोग गर्दा, कार्यकक्षमै हात हालाहालको अवस्था आउँदा, चुरे अध्यक्षले सहमती दिने नाममा एकलौटी निर्णय गर्न लागाई लाखौ हेक्टर चुरे क्षेत्रको जमिन दोहनको लागि सहमति दिँदा पनि सरोकारवाला मन्त्रालय र निकायहरुबाट विभागीय कारवाही नहुँदा अध्यक्ष पौडेलले पदको दुरुपयोग गरी आर्थिक अनिमियता लगायत अन्य धेरै विषयमा संस्थाको बदनाम गरेको र राष्ट्रिय गौरबको आयोजना नै धरासायी बनाएको भन्दै सदस्य आचार्यले छानविनका लागि अख्तियारमा निवेदन दिएका छन् ।