रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर पौराइमा आज बिहान गाडीको ठक्करबाट एक ३५ वर्षीय युवकको मृत्यु भएपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग ७ घण्टादेखि अवरुद्ध पारेका छन् । बिहीबार बिहान ६ बजेदेखि नै राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन रोकिएका छन् भने हजारौँ यात्रु अलपत्र परेका छन् ।
आज बिहान करिब ५ बजेतिर सडकमा बुद्ध लिम्बुको शव फेला परेको थियो। उनलाई ठक्कर दिने गाडीको भने अझै पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले गाडीको खोजी कार्य जारी राखेको छ। डीएसपी दीपककुमार रायका अनुसार ठक्कर दिने गाडी पत्ता नलाग्दा समस्या भएको छ ।
मृतकका परिवार र स्थानीयवासीले ठक्कर दिने चालकलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।
राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनहरू रेल्वेको पुलबाट बागमती नदी पार गरी आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । तर, ठूला बस र मालबाहक ट्रकहरू भने घटनास्थलमै रोकिएका छन् ।
हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको डीएसपी रायले जानकारी दिए ।

























