काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत भएको बताएको छ।
बिहीबार उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति जारी गर्दै यी घटनाक्रमले आफ्नो पार्टीलाई गम्भीर बनाएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउ पुर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन अदालतले दिएको आदेशप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत छ।”
माओवादी केन्द्रले मिडियासम्बन्धी विषय हेर्ने निकाय प्रेस काउन्सिल भएको भन्दै त्यसलाई छलेर सरकारले दमनको नीति लिएको आरोप समेत लगाएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिल लगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ। तर सरकारले प्रत्यक्ष रुपमा पक्राउ पुर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, जुन लोकतान्त्रिक मर्म विरुद्ध छ।”


























