काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूले निर्णय गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठकले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करीको संगठित अपराधलाई सदाका लागि रोक्न छानबिन समिति आवश्यक रहेको निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले बताएका छन् ।
विपक्षी दलको बैठकपश्चात् प्रचण्डले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । त्यसअघि उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टै भेटवार्ता गरेका थिए ।
रास्वपाले छानबिन समिति गठनका लागि ५ बुँदे प्रस्ताव अघि सारेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि छानबिन समिति बनाउने विषयमा आफूहरूबीच कुनै फरक मत नरहेको र विगतदेखि नै उठाउँदै आएको अडानमा छलफल भइरहेको बताएका छन् ।
भेटमा सभामुख घिमिरेले प्रचण्डलाई प्रतिनिधिसभाको अवरोध हटाउन आग्रह गरेका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सभामुखको भनाइ उद्धृत गर्दै भने, ‘सदन छिटो खुलाउनुपर्यो, धेरै भइसक्यो।’ जवाफमा प्रचण्डले आफूले प्रयास गरिरहेको बताए । पाण्डेले प्रचण्डलाई उद्धृत गर्दै भने, ‘सदन खुलाउने विषयमा म सिरियस नै छु । प्रयत्न गरिरहेकै छु ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने विपक्षी दलको अडानका कारण जेठ १३ गतेदेखि नै प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । आज पनि दिउँसो ३ बजेका लागि डाकिएको बैठक हालसम्म सुरु हुन सकेको छैन ।
























