नवलपरासी । नवलपरासी पूर्वको दुम्कीबासमा अविरल वर्षाका कारण विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान आएको बाढीले डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
डाइभर्सन बगाएको स्थानबाट साना तथा यात्रुवाहक सवारीसाधनलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ ।
स्मरण रहोस्, गत पुस महिनामा भारतबाट आउने ओभरलोड सवारीसाधनका कारण विनयी खोलाको पुल भाँचिएको थियो । पुल भत्किने जोखिम बढेपछि त्यसबेलादेखि नै डाइभर्सन प्रयोगमा ल्याइएको थियो ।
यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले नयाँ निर्माण गरिएको पुल आगामी दुई साताभित्र सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन् ।

























