काठमाडौँ । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार दिउँसो प्रहरीको साइबर ब्युरोले प्रसाईलाई भक्तपुरस्थित उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
प्रसाईलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि भर्याङ लगाएर कमाउण्ड नाघेर भित्र प्रवेश गरेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
अदालतले प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ गर्न अनुमति दिएको थियो ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै संग्रौला थरकी महिलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने प्रहरीको तयारी छ ।