काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सोमबार विहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिह्न प्रदान गर्दै राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए हुन । राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।
राष्ट्रपति पौडेलले भदौ १२ गते नै सिग्देललाई प्रधानसेनापति पदमा आजबाट लागू हुने गरी नियुक्त गरेका थिए ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए ।
सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरूप गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार प्रभुराम शर्मा विदामा बसेपछि वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । शर्माले आजैदेखि अनिवार्य अवकाश पाइसकेका छन् ।
सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा कमाण्ड सम्हालेका छन् ।




















