काठमाडौँ । कुमारी क्लबको कार्यसमितिको निर्वाचन आगामी शनिबार हुने भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं १४ बल्खुमा रहेको सो क्लबको १७ औँ कार्यसमितिको चयन गर्न निर्वाचन हुने भएको हो ।
१७औँ कार्यसमिति गठनका लागि दुईवटा प्यानल निर्वाचनमा होमिएका छन् । एउटा क्लब जसले टोलवासीका समस्या समाधान गर्ने पवित्र उद्देश्य राखेको भए पनि राजनीतिक प्रभावका कारण सहमति हुन नसकी चुनाव गर्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ ।
गत १६ औँ कार्यसमितिमा रहेका र कार्यभार सन्तोषजनक ढंगले पूरा गर्न नसकेका निवर्तमान अध्यक्ष राजकुमार बस्नेतले फेरि दोहोरिने मनसाय देखाएपछि चुनाव गर्न बाध्य भएको स्थानीय टोलवासीले बताएका छन् ।
सत्ताको केन्द्रिय राजनीतिमा कांग्रेस र एमालेबीचको गठबन्धनमा सरकार निर्माण भए पनि कुमारी क्लबको निर्वाचनमा भने फरक गठबन्धन बनेको छ । यस निर्वाचनमा एमाले र राप्रपाले एउटा प्यानल तथा कांग्रेस र माओवादी गठबन्धनले अर्को प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
एमाले र राप्रपाको गठबन्धनको प्यानल बनाई नकुल हमाल ठकुरी अध्यक्षका रुपमा चुनावी मैदानमा छन् । सो प्यानलको उपाध्यक्ष ज्ञानेश्वर उपाध्याय (भट्टराई), सचिव रविन्द्र महर्जन, सहसचिव अजय ओझा (अज्जु), कोषाध्यक्ष रोहित खड्का, सहकोषाध्यक्ष विष्णु अछामी चुनावी मैदानमा छन् । त्यस्तै यसै प्यानलबाट सदस्यहरुमा शोभा थापा, जयराम थापा, सविना महर्जन, रामेश्वर नगरकोटी र प्रकाश पौडेल छन् ।
यसैगरी कांग्रेस र माओवादीबीच गठबन्धन गर्दै अध्यक्षका रुपमा निवर्तमान अध्यक्ष रामकुमार बस्नेत चुनावी मैदानमा रहेका छन् । उनलाई अघिल्लो कार्यसमितिमा रहेर सन्तोषजनक ढंगले कार्य नगरेको आरोप स्थानीयवासीहरुले लगाएका छन् । त्यसका बाबजुद उनी फेरि दोहोरिने दाउमा रहेका छन् । सोही प्यानलबाट उपाध्यक्षमा पहलमान महर्जन, सचिव मनोज भण्डारी, सहसचिव दिनेश बस्नेत, कोषाध्यक्ष सुमन महर्जन, सहकोषाध्यक्ष त्रिलोचन बस्नेत रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा राजु दानी क्षेत्री, अम्बिका तिमिल्सिना, निलप्रभा कर्माचार्य, विक्रान्त विष्ट र सागर मल्ल रहेका छन् ।
निवर्तमान अध्यक्ष राजकुमार बस्नेतको अघिल्लो कार्यकालबाट असन्तुष्टका भएका टोलवासी र मतदाताको भनाइअनुसार यी दुई प्यानलमध्ये अध्यक्षका प्रत्यासी नकुल हमाल ठकुरी शनिबार हुने निर्वाचनबाट अध्यक्षमा विजयी हुने सुनिश्चित भएको र सोही अनुसारको माहोल बनेको स्थानीय टोलवासीहरुले बताएका छन् ।
यसका साथै १०८२ मतदाता रहेको सो क्लबको निर्वाचनमा स्थानीय समाजसेवी, बौद्धिक वर्ग, पूर्व कर्मचारीहरु र जनप्रतिनिधिहरु अध्यक्षका प्रत्यासी हमालको पक्षमा रहेकाले उनको जित सुनिश्चित रहेको र उनको प्यानल भारी बहुमतले निर्वाचित हुने दाबी मतदाताले गरेका छन् ।
कुमारी क्लबले टोलवासीका समस्याहरु फोहोरमैला व्यवस्थापन, खानेपानी, पुल निर्माण, सडक कालोपत्र, ढल निकासलगायत टोलका यावत् समस्या समाधान गर्नुपर्ने जिम्मेवारी वहन गर्दै आएको छ ।