काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
काठमाडौं प्रहरी २६ असारमै टेकुबाट यहाँ सरेपनि उद्घाटन भने आज बिहान आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले गरेका हुन् ।
विसं २०७२ को भूकम्पले हनुमानढोकामा रहेको कार्यालय भवन ध्वस्त बनाएपछि विस्थापित जिल्ला प्रहरी कार्यालयले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।
प्रहरीले भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएपछि अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो ।
भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ ।