काठमाडौँ । खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न काठमाडौँ महानगरपालिकाले व्यवसायीहरुको क्षमता विकासबाट काम थालेको छ । कोही व्यक्तिले कुनै ठाउँमा खाना खाँदा त्यो खानाले स्वास्थ्यमा कुनै पनि हानी नोक्सानी गर्दैन भन्ने सुनिश्चित हुनुपर्छ । यसरी सुनिश्चित हुने अवस्था खाद्य स्वच्छता हो । यस्तो खानेकुरामा स्वाद, रङ्ग, वास्ना, परिमाण, पोषक तत्व हुनुपर्दछ । गुणस्तर यसैका आधारमा मापन गरिन्छ ।
महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत यस वर्ष खाद्य सेवामा क्षेत्रगत व्यावसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम दिइनेछ । यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारीका लागि आजदेखि २ दिने क्षमता विकास तालिम सुरु भएको छ । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिम दरबार हाइ स्कूलमा भोलिसम्म चल्नेछ । तालिममा करिब ३ सय जना व्यवसायीहरु सहभागी हुनुहुन्छ । यो समूहबाट ४ सय जनालाई तालिम दिने लक्ष्य छ ।
तालिममा ६ वटा कक्षा चल्नेछन् । यसमा खाद्य स्वच्छता र सरसफाइ, स्थान र संरचनाको न्युनतम सुविधा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, खाद्य भण्डारण (काँचो, पाकेको), उचित प्रयोग नहुँदा खाद्य पदार्थबाट हुने जोखिम, हाइजिन रेटिङ्, सरसफाइ स्तरीकरण र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) क्षमता विकासका विषय हुन् । यी कक्षाहरुमा सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खाना र खाना बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा जानकारी दिइनेछ । यस्तै तापक्रम, साधन तथा उपकरणको प्रयोग र व्यवस्थापन, पेशाकर्मीको व्यक्तिगत सरसफाइलगायत विषयमा कक्षा सञ्चालन हुनेछन् ।
व्यवसायीहरुमा खाद्य सेवा मापदण्डका बारेमा जानकारी भयो भने उत्तरदायित्व बोध गराउन सकिन्छ । नियमन गर्नु अघि प्रचलित व्यवस्थाका बारेमा जानकारी दिनु र मापदण्ड बुझाउन आवश्यक भएकोले तालिम थालिएको हो । खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा भन्छिन्, ‘तालिमपछि खाद्य सेवा प्रदान गर्ने व्यवसाय मूल्याङ्कन गरेर प्रमाणीकरण र स्तरीकरण गर्नेछौँ । यसबाट हरेक उपभोक्ता, खानेकुरा खाएको स्थानबाट स्वच्छ खाना पाएको सुनिश्चित हुन सक्नेछन् ।’
‘स्वच्छ खाद्य सेवाका लागि पालना गर्नु पर्ने अनिवार्य आचरणलाई खाद्य निरीक्षकले निरीक्षण गर्नुहुनेछ ।’ प्रमाणीकरण र स्तरीयकरण प्रक्रियाका बारेमा कार्यक्रमका सल्लाहकार सन्तोष गिरी भन्छन्, ‘अवस्थाका आधारमा प्रमाणीकरण र स्तरीकरण गरिएको व्यवसायमा स्क्यान कोड राखिनेछ । कोही उपभोक्तालाई स्तरबमोजिमको सेवा नलागेमा वा चित्त नबुझेमा स्क्यानबाट फोटोसहित आफ्नो गुनासो पठाउन सक्नुहुनेछ । इमेलबाट गुनासो पठाउन र हटलाइनबाट गुनासो टिपाउन सक्नुहुनेछ । यसका आधारमा महानगरपालिकाले गलत क्रियाकलापको नियमन गर्नेछ ।’
खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरण
सेवाको मूल्याङ्कन गर्ने प्रणालीले खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको निश्चित गर्छ । व्यवसायीलाई जवाफदेही बनाउँछ । व्यावसायीलाई स्वच्छता मापदण्डहरूको बारेमा जानकारी प्रदान गर्छ । यसले उपभोक्ताहरूलाई खाना कहाँ किन्ने? कहाँ किन्ने? कुनको स्तर कस्तो छ? भन्ने निर्णय गर्ने आधार उपलब्ध गराउँछ । यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यस्तै दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यावसायीले पहिलो हुन सुधारका अवसर प्रदान गर्छ । उपभोक्ताहरुलाई ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाई, खाद्य सुरक्षाजस्ता खाद्य सेवा र व्यवस्थापनका बारेमा जानकारी राख्न मद्दत पु¥याउँछ । खानाको गुणस्तर, ग्राहक सेवा, खाना व्यवसायको स्तरप्रति उत्तरदायी बनाउँछ ।
यसका लागि महानगरपालिकाले खाद्य स्वच्छता निर्देशिका, सूचक र स्तरीकरण प्रणालीको मस्यौदा तयार पारेको छ ।