काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा अष्ट्रेलियाले विजयी सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमा टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै अष्ट्रेलियाले महत्वपूर्ण तीन अंक हात पारेको हो।
क्यानडाको भ्यानकुभरमा सम्पन्न खेलमा अष्ट्रेलियाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो। टोलीलाई अग्रता दिलाउने क्रममा युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले २७औँ मिनेटमा उत्कृष्ट गोल गरे। तीव्र प्रतिआक्रमणमा प्राप्त अवसरलाई सदुपयोग गर्दै उनले बललाई जाली चुमाएका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो हाफमा पनि खेलमाथिको नियन्त्रण कायम राख्यो। टर्कीले केही अवसर सिर्जना गरे पनि गोल गर्न भने सफल हुन सकेन।
खेलको ७५औँ मिनेटमा कोनर मेटकाल्फले डी–बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अष्ट्रेलियाको अग्रता दोब्बर भयो। उनको सटिक लो–ड्राइभ प्रहार टर्कीका गोलरक्षकका लागि रोक्न कठिन साबित भयो।
जितसँगै अष्ट्रेलियाले समूह ‘डी’ मा तीन अंक जोडेको छ। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा अमेरिका शीर्ष स्थानमा रहेको छ। अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेमाथि ४–१ को प्रभावशाली जित निकालेको थियो।
पहिलो चरणका खेल सकिँदा अमेरिका र अष्ट्रेलिया समान तीन–तीन अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। टर्की र पाराग्वे भने अंकविहीन अवस्थामा रहेका छन्।
अब अष्ट्रेलियाले समूह चरणको दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ भने टर्कीले पहिलो अंकको खोजीमा पाराग्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।




















