काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ ।
आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति प्रस्तुत गर्दै ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको उनले जानकारी दिए ।
अभियानका लागि पार्टीले सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी तोक्दै विस्तृत कार्ययोजना र अवधारणा पत्र पठाएको जनाएको छ। एमालेका अनुसार ३१ पृष्ठ लामो उक्त दस्तावेजमा गत निर्वाचनको समीक्षा, पार्टीले भोगेको पराजयका कारण, कार्यकर्ता तथा जनतामा बढेको निराशालगायत विषयको विश्लेषण गरिएको छ।
दस्तावेजमा २०७४ सालको निर्वाचनपछि वाम गठबन्धन र नेकपा गठनबाट उत्साहित बनेको जनमत पार्टी एकता टिक्न नसक्नु, नेकपाको विघटन र एमाले विभाजनका कारण निराश बन्दै वैकल्पिक शक्तितर्फ आकर्षित भएको उल्लेख गरिएको छ।
‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो,’ अवधारणा पत्रमा भनिएको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपालको अस्थिर राजनीतिक अवस्था र भूराजनीतिक चलखेलसँग जोडेर व्याख्या गरिएको छ।
एमालेले आफ्नै नेतृत्वको सरकारले गरेका सकारात्मक काम जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा त्यसको प्रतिकूल असर परेको निष्कर्षसमेत निकालेको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यका अनुसार अभियानमार्फत वर्तमान राजनीतिक अवस्था, निर्वाचनमा पराजयका कारण र पार्टीको भावी कार्यदिशाबारे नेताहरूलाई स्पष्ट पारिएको छ।
उनले पार्टीका सबै तहमा सही सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार केन्द्रबाट पठाइएको दस्तावेजमा पार्टी कमजोर हुनुका कारण, देशी–विदेशी प्रभाव, एमालेविरुद्ध अल्गोरिदम प्रयोग भएको दाबी, डिजिटल प्रचार रणनीति, जनतासँग सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधिबारे समेत विस्तृत चर्चा गरिएको छ।
पार्टीले डिजिटल संगठन निर्माण र सामाजिक सञ्जालमार्फत प्रभावकारी प्रचारलाई विशेष प्राथमिकतामा राखेको छ। साथै ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ मा समेत ध्यान दिन कार्यकर्तालाई निर्देशन दिएको छ।
आचार्यका अनुसार अभियान अन्तर्गत सबै केन्द्रीय सदस्यलाई विभिन्न पालिकाको जिम्मेवारी दिइएको छ। आवश्यकताअनुसार अन्य नेताहरूलाई पनि परिचालन गरिएको छ भने उनीहरूको गतिविधिको अनुगमन गर्ने व्यवस्था समेत मिलाइएको छ।
केन्द्रबाट खटिएका नेताहरूलाई होटलमा बस्नुभन्दा जनताकै घरमा बस्न आग्रह गरिएको बताउँदै आचार्यले अभियान आगामी स्थानीय तह र प्रदेश निर्वाचनसम्म निरन्तर सञ्चालन हुने जानकारी दिए।




















