गायिका एलिना चौहान हाल पतिसँग अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनले हिजो धरधरी रुँदै गरेको भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनका फ्यानहरुमा कौतुलता पैदा भएको छ ।
गत महिना मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका हुन् ।
भिडिओमा एलिनाको अनुहारमा राता डामहरु देखिनु र उनले चयन गरेको गीत र लेखेको क्याप्सनले उनका शुभचिन्तकहरुमा चिन्ता बढाउनु स्वभाविकै हो । कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाए ।
एलिनाले भिडिओ बनाइएको भारतीय गीतको बोल छ– थारा पैसा, थारी दौलत, थारी गाडी, थारा नाम, थारा बंगला, थारा गाँव, तुम्ही रखो रे
यो गीतको नेपाली अर्थ हो– तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो गाउँ तिमीसँगै राख ।
यस्तै क्याप्सनमा एलिनाले लेखेकी थिइन्, एउटा वास्तविक पुरुषले तपाईंलाई त्यसबेला पनि सम्मान गर्छ, जब ऊ तपाईंप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।
उनले लेखेकी छिन्, हेपाइ सहनका लागि कारण होइन प्रेम । गीतले साँच्चै छोयो ।
यो भिडिओ हेरेपछि एलिनाका फ्यानहरुले श्रीमान विष्णु सापकोटासँग केही खटपट परेको त होइन ? एलिनालाई विष्णुले कुटेका त होइनन् ? यस्तै अड्कलबाजी भइरहेको छ ।
एलिनाको भिडियो भाइरल भएपछि उनले अर्को भिडियो मार्फत स्पष्टिकरण दिँदै आफूलाई केही नभएको र आफू सकुशल रहेको बताएकी छिन् । उनले चाँडै नेपाल आउने पनि बताएकी छिन् ।
आफ्नो भिडिओलाई लिएर समाचार बनाइएकोमा एलिनाले असन्तुष्टि जनाएकी छिन् । आफूलाई मन परेको गीतमा एउटा कन्सेप्ट बनाएर भिडिओ बनाएको भन्दै उनले वास्तविकता नबुझीकन समाचार बनाइएको गुनासो गरेकी छिन ।