काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको विषय राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भएमा भने राजीनामा दिनुपर्ने बताए । अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेपछि कांग्रेसले नै प्रधानमन्त्रीको अफर गरेको मान्छे गृहमन्त्रीका लागि अयोग्य हुन्छ भन्नु द्वैध भूमिका भएको उनले बताए ।
सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने समेत बताए ।
सहकारी ठगीमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामाको माग गर्दै संसद अवरुद्ध समेत गर्दै आएको छ ।




















