काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा नेपाली कांग्रेसले प्रमाणबिना आफूमाथि निहुँ खोजेको आरोप लगाएका छन्।
सहकारी पीडितले प्रहरीमा दिएको उजुरीलाई कागजको खोस्टोको संज्ञा दिँदै गृहमन्त्री लामिछानेले बिना कारण राजीनामा माग्नु ठिक नहुने तर्क गरे ।
शनिबार एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले भने,’ एउटा कागजको खोस्टो प्रहरीमा भेटाएर ममाथि संसदीय सुनुवाइ मागिएको छ। गृहमन्त्रीबाट राजीनामा मागिएको छ। यसमा कुनै तुक छैन ।’
राष्ट्र र नागरिकको सेवा गर्ने अवसर जुरेकोमा सरकारमा सहभागी भएको उनको भनाइ छ। उनले यो अवसरलाई परिणाममुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।
उनले आफूहरूलाई देशको ठूलो दल नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नुपर्ने अवस्था नआउने दावी गरे।
आफूमाथि लागेका आरोपबारे पार्टीमा छलफल गरी सार्वजनिक गरेको भन्दै कांग्रेसले आफ्नो जवाफ सुन्न धैर्य नगरेको दावी गरे ।
गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप छ। नेपाली कांग्रेसले उनीमाथि अनुसन्धानका लागि संसदीय सुनुवाइ समितिको माग गरेको छ।पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जाहेरीमार्फत हाल गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक लामिछानेमाथि उजुरी दिएको भएपनि छानबिन नभएको पीडितहरुले नै बताएका छन् ।




















