राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मान्यताहरू उल्लेख नभएको संविधान नमान्ने बताएका छन् ।
आगामी चैत २७ गते राजधानी केन्द्रित प्रदर्शन र आन्दोलनको तयारीस्वरूप मधेश भ्रमणका क्रममा रहेका अध्यक्ष लिङ्देनले शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
संघीयतालाई संस्थागत गर्न अग्रणी योगदान गरेको मधेसले गणतन्त्रबाट उपलब्धि नपाएको बरु संघीयताका कारण प्रताडित बनेको उनको टिप्पणी थियो ।
हिन्दुत्वको भावना बलियो रहेको मधेशले धर्मनिरपेक्षता घोषणाका कारण हिन्दुत्वमा संकट पैदा भएको बुझ्न थालेको र मियोका रूपमा राजतन्त्रको आवश्यक्ता महशुस गरेको उनले बताए । मिटरव्याज, सहकारी, लघुबित्त, बैंक र बित्तिय संस्थाबाट मधेश पीडित रहेको र भ्रष्टाचार, बेरोजगारी बढेको उनको विश्लेषण थियो ।
गठबन्धनलाई स्वार्थको गठजोड बताएका लिङ्देनले सत्तालाई स्वार्थअनुकूल रक्षाकवचका रूपमा प्रयोग गर्ने प्रधानमन्त्री नै अस्थिरतातर्फ गएपछि राप्रपा सत्तामा सामेल नभएको बताए ।
उनले सरकार प्राथमिकताको विषय नरहेको तर प्रदेश सरकार गठनमा गणितिय हिसाबले राप्रपाको अनिवार्यता देखिए छलफल गर्न सकिने बताए । त्यस लागि कतैबाट औपचारिक प्रस्ताव भने नआएको उनले बताए ।
सहकारी ठगी मामिलामा नाम जोडेर गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भइरहेको सन्दर्भमा उनले भने, ‘जिम्मेवारीमा बसेकामाथि लिखित वा अलिखित प्रश्न उठेपछि जवाफ दिनुपर्छ र सफाइ पेश गर्नुपर्छ ।”
राजनीति र राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा बढेको भन्दै छवि सुधार गर्ने जिम्मा पनि राजनीतिक दलहरूकै भएको उनले बताए ।




















