रुपन्देही । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाइ जोगाउने प्रपञ्चमा लागेको दाबी गरेका छन् ।
कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा बोलेको कुरामा सत्यता नभएको उल्लेख गरे ।
युगपुरुष स्व गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई बुटवल १२ तामनगरमा सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने समेत धारणा राखे ।
पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तरराष्ट्रिय समुदायले पनि यसबारेमा उठाएका सवाल सुन्न माओवादी तयार छ की छैन भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले सत्ताको मोलमोलाई गरेर टिआरसी नटुंगिने दाबी गरे ।
कांग्रेसलाई दोष दिएर माओबादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले कोशी प्रदेशमा आफुहरुकै सरकार रहेको बताए । नयाँ गठबन्धनले कुन धारामा टेकेर के के गर्छ त्यो भने हेर्दै जाने उनको कथन थियो । उनले गृहमन्त्री रबि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने जिकिर गरे ।
राजनीतिमा नैतिकताको खडेरी रहेको भन्दै उनले सहकारीमा आफै दोषी देखिएका लामिछानेले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताए । बिबादमा तानिएपछि यसअघि रामशरण महत, बिष्णु पौडेल, जर्नादन शर्मा, गोकुल बास्कोटा, कृष्णबहादुर महराले पद छाडेर उनले बताए ।
उनले महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई भने धरौटीमा रिहा हुनु रहस्यमय रहेको दाबी गरे । नेता कोइरालाले कांग्रेस अब एक्लै चुनाब लड्ने र कसैकौ बैसाखी नटेक्ने दाबी गरे ।



















