धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
नेपाली कांग्रेसका मन्त्री त झण्डा हल्लाउँदै अख्तियार गएका थिए,सबैले देखेको होइन,अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?,’ ओलीले प्रश्न गरे ।
उनले कांग्रेसले सरकार छोड्नुपरेको पीडामा छाती पिटिरहेको आरोप समेत लगाए ।
सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा ओलीले भने,‘सोमबार माओवादीका नेता पक्राउ परेका होइनन् । माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन् ।’
उनले त्यतिबेला नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर राखेको अडान अहिले पुष्टि भएको जिकिर गरे ।
एक अर्को प्रशंगमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुने संकेत गरे ।
नयाँ गठबन्धनलाई बाग्मती,गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ । प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरणबारे पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा ओलीले भने,‘अहिले त्यस बारेमा म केही नभनौं । किनकी मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुदैन ।’



















