काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । आज बसिरहेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन ।
आफूमाथि उठेका प्रश्न बोकेर लामिछाने गृहमन्त्री हुन हुँदैनथ्यो भन्दै सांसद पौडेलले सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति गृमन्त्री हुँदा पीडितहरूले कसरी न्याय पाउँछन् भन्ने प्रश्न गरेका छन् ।
उता उपप्रधान तथा गृहमन्त्री लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नबारे ध्यानाकर्षण भएको बताउँदै सभामुखबाट रुलिङ भएको खण्डमा आफू संसद्मा उभिएर एकएक जवाफ दिन तयार रहेको बताएका छन् ।
गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेकामा कांग्रेसले उनी स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको बारेमा पत्रकारहरुले गरेको प्रश्नमा गृहमन्त्री लामिछानेले आफूले पटकपटक जवाफ दिइसकेको र संसदमा उभिएर जवाफ दिन पनि तयार रहेको बताएका छन् ।



















