काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरुमा रहेको निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउन नहुने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताएका हुन् ।
उनले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी, बालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गरे ।
उनले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरु विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताए । उनले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी,वालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्नसक्ने बुझिएकाले हटाउन माग गरे ।
उनले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानून बनाउन नहुने बताए ।
उनले नेपाल आफैँ विकासोन्मुख देश भएकाले धेरै पूर्वाधारहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैँलाई निर्माण सामाग्री आवश्यक हुने बताए । उनले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताए ।



















