काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २०७९ साल पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले यो १४ महिनाको अवधिमा तीन पटक विश्वासको मत पाएका हुन् ।
सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा वैठकमा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावको पक्षमा १५७ , विपक्षमा ११० र तटस्थ १ मत परेको छ । आजको वैठकमा २६८ उपस्थिति थियो ।
माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।
विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत प्राप्त गरे पुग्थ्यो । अहिले प्रधानमन्त्री प्रचण्डलाई माओवादी, एमाले, रास्वपा, जसपा, नेकपा एस, नाउपालगायत स्वतन्त्र सांसदहरुले समेत समर्थन दिएका छन् ।



















