काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० गते प्रधानमन्त्री भएका दाहालले १४ महिनामा आज तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री उनले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपालगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक पर्छ । नेकपा एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपा १२, एकीकृत समाजवादी १०, नाउपा ४, आजपा १ र स्वतन्त्र दुई सांसद ९अमरेस कुमार सिंह र योगेन्द्र मण्डल० प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । यी सबैको मत जोड्दा १५८ मत पुग्छ ।
यसैगरी विपक्षमा नेपाली कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ र नेमकिपाका १ सांसद छन् । यी सबैको मत जोड्दा ११२ मत हुन्छ । १ सांसद रहेको जनमोर्चा तटस्थ बस्ने सम्भावना छ ।



















