काठमाडौं । सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिससमेत गरिएको उनले बताइन् । उनका अनुसार मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको हो ।
सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संघ र प्रदेशबीच आवश्यक समन्वयका लागि पदमुक्त गरिएको बताइन् ।




















