काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अघि सारेका मागहरूमा लिखित रुपमा सहमति भएपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’ले लिखित रुपमा सहमति जनाएपछि मात्रै विश्वासको मत र राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टीले अघि सारेका मागहरू प्रधानमन्त्री प्रचण्डले लिखितरुपमा सहमति जनाएपछि मात्रै विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने निर्णय भएको जानकारी दिए । तर, उनले मागहरू के- के हुन् यसबारे भने केही बोलेनन्।
उनले पार्टीले अघि सारेका विषयहरू कार्यान्वयन भएन भने भोट दिइरहन आवश्यक नहुने बताए । उनले सरकार रहिरहने वा ढाल्ने कुरा प्रधानमन्त्री प्रचण्डको भरमा रहेको उल्लेख छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि हुँदैछ । नयाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहालले उम्मेदवारी दिएका छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा उम्मेदवार बनेका छन् ।




















