कञ्चनपुर । नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय समिति वैठक आज दिउँसो कैलालीको टीकापुरमा बस्दैछ ।
संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बस्ने वैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विषयमा निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने बताइएको छ ।
टीकापुरमा केही महिना अघि भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै श्रेष्ठ अध्यक्ष रहेको संस्थापन समितिलाई पुनःस्थापित गरेको हो ।
रेशम र रञ्जिता पति–पत्नीसमेत हुन् । हाल पार्टीभित्र उनीहरुबीच चर्को विवाद देखिएको छ । अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच मतभेद सतहमा आएको हो ।
नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन् । तर समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन जारी गरेपछि नाउपा फुटको संघारमा पुगेको छ भने पारिवारिक एकतामा समेत आशंका उब्जिएको चर्चा चल्न थालेको छ । गत महाधिवेशनमा अध्यक्ष पदमा रञ्जिता दोहोरिन चाहन्थिन् । तर रेशमले जिद्दी गरेर अध्यक्ष भएका थिए ।




















