काठमाडौं । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन सहयोग आवश्यकता परे दिन तयार रहेको बताएको छ ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले शान्ति प्रक्रियाका बाँकी काम चाडै टुंगोमा पुग्ने विश्वास गरेका हुन् ।
अर्थमन्त्रालय एक अधिकारीका अनुसार भेटका क्रममा राजदूत थम्पसनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।
उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देशहरु पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।
कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) टुंग्याउने तयारी गरिरहेको छ ।
गत आइतबार समितिबाट टिआरसी विधेयक टुंग्याएर पारित गर्ने गरी बोलाइएको बैठकमा तत्कालीन कानुनमन्त्री धनराज गुरुङले टिआरसीका विवादित विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै समय मागेका थिए ।
विधेयकमा रहेका केही प्रावधानमाथि प्रश्न उठाएपछि कानुनमन्त्री गुरुङले त्यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने बताएका थिए ।




















