काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो छरितो व्यवस्था मिलाउने निर्णय गरेका छन् ।
आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यादवले संघीय तथा प्रादेशिक अस्पतालहरूमा शल्यक्रियाको समय लिन बिरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गरेका हुन् ।
बिरामीहरू लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले सहज बनाउँदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत् घरैबाट पनि समय लिने व्यवस्था मिलाउने बताए।
पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरियताको मतलव नहुने बताए । उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए ।




















