रुपन्देही । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले संघ र प्रदेशका सांसद संख्या ब्यापक कटौति गर्नुपर्ने बताएका छन् ।
उनले संघीय सांसद सय जना मात्र भए पुग्ने बताए । यस्तै प्रदेश सांसद संख्या पनि आधा घटाउनुपर्ने चौधरीले बताए ।
उनले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरु फिर्ता नहुने बताए ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिए पनि नेता चौधरीले शुक्रबार राति मन्त्री बनेका सांसदहरु सरकारबाट फिर्ता नहुने बताए ।
नेता चौधरीले बुटवलमा कांग्रेस सांसद दीपक गिरी र प्रदेश सांसद धनेन्द्र कार्कीसहितका नेताहरुसँग छलफल गरेका छन् ।
सञ्चारकर्मीसँग बोल्दै उनले पार्टीभित्र अध्यक्ष श्रेष्ठ र आफूबीच कुनै असमझदारी नरहेको भन्दै मन्त्रीहरु फिर्ता नहुने बताए । शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए ।
लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता नहुने बताएका चौधरीले सरकारमा थप एकजनालाई राज्यमन्त्री बनाउने विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग आजै छलफल हुने बताए ।
निर्वाचन आयोगले आफूलाई पार्टी अध्यक्षमा निर्वाचित भएको मान्यता नदिने विषयमा आयोगको निर्णयको पूर्णपाठ हेरेर मात्रै धारणा सार्वजनिक गर्ने बताए । महाधिवेशनले गरेको सर्वसम्मत निर्णय आयोगले मान्नुपर्ने तर्क उनको छ ।
फरक प्रसंगमा उनले वर्तमान गठबन्धन सरकारको आयुका बारेमा केही भन्न नसकिने बताए । कांग्रेस , एमाले र माओवादी तीनवटै ठूला दल सत्ताको फोहोरी खेलमा लिप्त भएको चौधरीको आरोप छ ।
उनले सांसद भएपछि सबैलाई मन्त्री बन्ने महत्वाकांक्षाले पनि राजनीति बिगारेको तर्क गरे । मन्त्री बन्नका लागि निश्चित योग्यता र मापदण्ड कानूनमै किटान गर्नुपर्ने चौधरीको भनाइ छ ।




















