गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाएर देशलाई आर्थिक संकटबाट मुक्त गर्न एमालेले कोसिस गर्ने बताएका छन् ।
शुक्रबार प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले पुरानो गठबन्धनको आन्तरिक कारण, पार्टी र जनदबाबले सरकार विगठन भएको बताए ।
सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको बताउँदै उनले वर्तमान गठबन्धन सरकारलाई अवसर र चुनौती दुबै रहेको बताए ।
उनले देशलाई संकटको भूमरीबाट मुक्त गर्न एमाले पार्टीले विभिन्न अभियान सञ्चालन गरेको बताए। उनले नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन खडा भएको र संकटको भूमरीबाट देशलाई मुक्त गर्न पार्टीले ठोस कदम चालिरहेको दाबी गरे ।
कोरोना महामारीपश्चात् भएको कांग्रेस नेतृत्वको गठबन्धन सरकारले राम्रो काम नगर्दा नेपालको श्रमशक्ति बाहिरिएको उनको दाबी छ । सत्ताको लडाइँमा अस्थिर कम्युनिष्ट शक्तिलाई हातमा लिन काङ्ग्रेसले अनेक जालझेल गरिरहेको बादलले आरोप लगाए।
फागुन २६ र २७ गते लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा सहभागी हुन उनी गृह जिल्ला आएका हुन् ।




















