काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरु मिलेर सरकार बनाइनु स्वभाविक भएको बताए । उनले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसद्भित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे ।
यही फागुन २१ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीचको सहमतिबाट सरकार पुनर्गठन भएको थियो । सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी भएको छ ।
नेता पौडेलले आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गर्नुभएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुभकामना दिँदै यो यात्रा अविराम र अविचलितरुपमा अघि बढोस् भन्ने कामना गरे ।
आर्थिकमन्दीका कारण जनताका निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रतिपक्षका जायज मागलाई सुनेर सरकारले आशावाद सिर्जना गर्ने काम गर्ने उनको भनाइ छ ।
नेता पौडेलले विद्यमान संवैधानिक प्रबन्धअनुसार कुनै एक दलको बहुमत आउन कठिन अवस्था रहेको उल्लेख गर्दै जनताको विश्वास जित्दै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।




















