काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा मन्त्री हटेसँगै एक हदसम्म माग सम्बोधन भएको बताएका छन्।
मन्त्रिपरिषद पुनर्गठन भएपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनामा सरकार पुनर्गठन भएसँगै केही हद सम्बोधन भइसकेको जवाफ दिएका हुन् ।
बालकुमारी घटनामा दोषी भनिएका तत्कालीन भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै सांसदहरूले संसद अवरोध गरेका थिए। नेकपा एमाले,रास्वा,राप्रपालगायत राजनीतिक दलहरूले मन्त्री ज्वालाको राजीनामा माग गर्दै यस विषयमा सरकारको धारणा माग गरेका थिए। सभामुख देवराज घिमिरेले बालकुमारी घटनामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गराएका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहाले कतिपय सांसदहरूले सदनप्रति सरकार उत्तरदायी नभएको आरोप लगाएको भन्दै त्यो आरोप न्यायसम्मत नभएको उल्लेख गरे।




















