काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।
वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावना रहेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए । उनले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए ।
एकता अंकमाल गरेर, रमाईलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने नेता खनालको प्रतिक्रिया थियो । उनले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरुबीच नै एकीकरणको प्रक्रिया शुरु हुने बताए ।
सम्मानित नेता खनालले कम्युनिष्टहरुबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरुले आ-आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि बताए । -न्युज एजेन्सी नेपाल




















