काठमाडौं । नागरिक समाजका अगुवा श्याम श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन कुनै पनि बेलामा भत्किन सक्ने बताएका छन् ।
नागरिक समाजका अगुवा श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन लामो समय नजाने बताएका हुन् ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले विचार र मुद्दाहरुमा गतिलो छलफल नगरी सत्ताको लागि मात्रै गठबन्धन गरिकाले कुनै पनि बेलामा भत्किने बताए ।
गठबन्धन बनाउँदा विचार, सिद्धान्त र रणनीतिमा कुनै छलफल नभएको उनले बताए । उनले केवल सत्ताको बाँडफाँटमा केन्द्रित रहेर गठबन्धन गरिएको भन्दै मन्त्रालयको भागबण्डा नमिल्नासाथ गठबन्धनमा झगडा शुरु हुने बताए । उनले वर्तमान गठबन्धन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को बाध्यता र आवश्यकताको उपज भएको उल्लेख गरे ।
श्रेष्ठले विचार र सिद्धान्त नमिलिकन गठबन्धन त नटिक्ने भन्दै एमाले–माओवादी केन्द्र बीचको एकता टाढाको कुरा भएको टिप्पणी गरे । उनले एमाले–माओवादी केन्द्रको एकता नहुने दाबी गरे । उनले विगतमा एमाले–माओवादीले वृहत छलफल बिना एकता गर्दा पार्टी फुटेको उदाहरण दिँदै अहिले पनि उनीहरुले पुरानै गल्ती दोहो-याएका बताए ।
अगुवा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक गठबन्धन फेर्नु ठिक नभएको बताए । उनले प्रधानमन्त्री दाहालले पहिले सहकार्य त्यागेको एमालेसँग अहिले गठबन्धन गर्दा गलत सन्देश गएको पनि बताए ।
गठबन्धन गर्नु गलत नहुने भन्दै उनले विचार, सिद्धान्त र रणनीति मिल्नेसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए । गठबन्धन किन र के काम गर्नलाई गर्ने हो भन्ने कुरामा सम्बन्धित दलहरु प्रष्ट हुनुपर्ने उनको भनाई छ ।
उनले प्रधानमन्त्री दाहालको कामलाई कांग्रेसका मन्त्रीहरुले सहयोग नगर्नु, राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई हराउनु र संक्रमणकालिन न्यायलाई टुंग्याउन कांग्रेसले ढिलासुस्ती गर्नु लगायतका कारणहरु नै विगतको गठबन्धन टुट्नुको प्रमुख कारणको रुपमा देखिएको बताए ।




















