काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज बूढानिलकण्ठमा बसेको कार्यसम्पादनले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए ।
उपसभापति गुरुङले प्रचण्डलाई समर्थन गरेर दिएको विश्वासको मत आजको बैठकबाट फिर्ता लिने निर्णय गरेको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमाले नेतृत्वको गठबन्धनसँग सहकार्य गरेका छन्। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन् ।
गुरुङले संविधान कार्यान्वयनका लागि सत्तामा वा प्रतिपक्षमा जहाँ रहेर पनि कांग्रेसले साथ दिने बताए । संवैधानिक व्यवस्था अनुसार कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।




















