काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन भने सचेतकमा बराल नियुक्त गरेका हुन ।
बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बराल समानुपातिक सांसद हुन । दुवै युवा नेताको राजनीति अनेरास्ववियुबाट शुरु भएको हो ।
बर्तौला अनेरास्ववियुको उपाध्यक्ष भएपछि पार्टी राजनीति गर्न गृहजिल्ला मकवानपुर गएका थिए । उनले गत निर्वाचनमा गठवन्धनका उम्मेदवार नेकपा एसका नेता विरोध खतिवडालाई पराजित गरेर सांसद भएका थिए भने बराल अनेरास्ववियुको अध्यक्ष हुँदा समानुपातिक सांसद भएकी थिइन् ।




















