काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताए । उनले आफुहरु सत्ताको खेलमा नरहेको स्पष्ट पारेका छन् ।
ओलीले आफुहरु अहिले मिसन ८४ मा लागेकाले कसैको काँध थाप्ने काम नगर्ने तथा जनतामा आशा र उत्साह दिन लागि परेको बताए । उनले कांग्रेसले मुलुकको राष्ट्रियता र अर्थतन्त्रप्रति चिन्ता नलिएको गुनासो गर्दै कांग्रेस अहिले सत्तामा पुग्ने र टिकाउने खेलमा लागेर मुलुकमा निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको जिकिर गरेका छन् ।
त्यस्तै उनले सुशासन दिएको दाबी गर्ने सरकारले आफैले बनाएको आयोगले दोषी देखाएका मन्त्रीले राजिनामा दिएर नैतिकता देखाउनु पर्ने धारणा राखेका छन् । उनले सत्य निरुपण तथा मेलमिलाप विधेयक छिटो पास गर्नुपर्ने बताउँदै पीडितको पक्षमा आएको विधेयकको कसैले विरोध नगर्ने जिकिर गरेका छन् ।
अध्यक्ष ओलीले संविधान संसोधन आवश्यक भएपनि एजेण्डाविहिन रुपमा संसोधन हुन नसक्ने बताए । उनले कुन कुन विषयमा संविधान संसोधन गर्ने विषय सतहमा नआएकाले आफुहरुले चर्चा नगर्ने गरेको बताएका छन् ।




















