काठमाडौं । भारतीय गायक पंकज उदासको निधन भएको छ । केही दिनदेखि बिरामी रहेका पंकजको सोमबार ७२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गजल ‘चिठी आई है’बाट निकै चर्चा पाएका उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो ।
भारतीय सिनेमा र पप संगीतको उनको योगदान असाधारण मानिन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उनी चर्चित भए । त्यसपछि उनले मुकरार, तरन्नुम र मेहफिलजस्ता हिट गीत दिए । सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए ।
फिल्म ‘घायल’का लागि उनले सन् १९९० मा लता मंगेशकरसँग ‘माहिया तेरी कसम’ गीत गायनमा सहकार्य गरेका थिए । फिल्म ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ अर्को हिट गीत हो ।