काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद योगेश भट्टराईले बिभिन्न प्रकरणमा मुछिएको भन्दै तीन मन्त्री राजीनामा माग गरेका हुन ।
एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटना दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा मागेको हो ।
बालकुमारी घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्ति आएकाले घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने पनि एमाले सांसद भट्टराईले बताए ।
उनले बालकुमारी घटनामा छानबिन समितिको प्रवितेदन सार्वजनिक गर्न समेत माग गरेका छन् । बालकुमारीमा दुई युवाको हत्या भएको भनेर प्रधानमन्त्रीले भनेको अवस्थामा मन्त्री ज्वालालाई वर्खास्त गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै उनले मिटरव्याजपीडितको समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।




















