काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको काज र सरुवा सिफारिस गरेको छ।
परिषद्को आज बसेको बैठकले उच्च अदालतका तीनजना र जिल्ला अदालतका नौं जना न्यायाधीशको काज र सरुवा सिफारिसका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो ।
उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीलाई उच्च अदालत पाटन,उच्च अदालत सुर्खेतका न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत विराटनगर, इलाम इजलास र उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरका लागि काज सिफारिस गरेको हो।
यसैगरी परिषद् बैठकले छजना जिल्ला अदालतका न्यायाधीशलाई सरुवाका लागि सिफारिस गरेको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य ललितपुर जिल्ला अदालत,सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद आचार्य कास्की जिल्ला अदालत,कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराई मकवानपुर जिल्ला अदालत,तेह्रथुम जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेल पर्सा जिल्ला न्यायाधीश ,रौतहट जिल्ला अदालतका न्यायाधीश तेजबहादु्र खड्का झापा जिल्ला अदालत र झापा जिल्लाका न्यायाधीश भीमबहादुर निरौला तेह्रथुम जिल्ला अदालत सरुवाका लागि सिफारिस भएका हुन्।
काज सिफारिस हुनेमा डडेलधुरा जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल,नवलपुर जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदी र दाङ जिल्ला अदालतका न्यायाधीशकुलप्रसाद पाण्डे रहेका छन्।
न्यायाधीश ढकाललाई चितवन जिल्ला अदालत,न्यायाधीश सुवेदीलाई मोरङ जिल्ला अदालत र न्यायाधीश पाण्डेलाई नवलपुर जिल्ला अदालतमा काज सिफारिस गरेको हो।
परिषदले बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतले समेत कामकाज गर्नेगरी तोक्न सिफारिस गरेको छ ।




















