काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।
सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका हुन् ।
चालु अधिवेशनमा टीआरसीलगायत संघीयता कार्यान्वयनसम्बन्धी महत्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको भन्दै प्रचण्डले संसदमा प्रभावकारी रुपमा बहस गर्न समेत निर्देशन दिएको माओवादीका मुख्य सचेतक हितराज पाण्डले जानकारी दिए।
बैठकमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको पाण्डेले बताए।
संसद्को तेस्रो हिउँदे अधिवेशन सोमबारदेखि सुरू भएको छ। यो अधिवेशनमा महत्वपूर्ण विभिन्न विधेयकहरू पारित गर्ने सरकारको तयारी छ।