काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताएका छन् ।
रफत सञ्चार क्लवको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानले देशमा कयौ नेता र दलहरुको जन्म भएपनि आफुहरुको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताएका छन् । जुनसुकै परिस्थिति आएपनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए ।
त्यस्तै सभापति लामिछानले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरुलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखेका छन् ।
उनले आफ्ना बारेमा उठेका बिभिन्न प्रश्नहरुको सामना गर्न आफु तयार रहेको र आफुप्रतिको आरोप र लान्छानाप्रति आक्रोशित नभएको बरु यसले आफुलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरेका छन् ।
राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलिप कुमार थापा मगर, पत्रकार शिव कुमार भट्टराई लगाएतलाई सम्मान गरिएको थियो ।