काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल भइरहेको छ ।
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक आज ४ बजे बस्दैछ । त्यही बैठकअघि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन् । बैठकले आजको बैठकका एजेन्डा पनि निर्धारण गर्ने छ ।
बैठकका सम्भावित कार्यसूची आइतबार सार्वजनिक भएका थिए। जसमा सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ ।
सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची आएको थियो ।
बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने पनि उल्लेख थियो।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने तयारी सम्भावित कार्यसूचीमा थियो ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची थियो ।