काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् ।
सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।
त्यसअघि प्रधानमन्त्री दाहालले सिमरास्थित जीतपुरसिमरा उपमहानग पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन गरेका थिए। उनले स्थानीय व्यवसायीसँग अन्तर्क्रिया गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने बताएका थिए।
‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरेका थिए।




















