बारा । नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संल्गन रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ प्रकाशन भएको छ । स्मृतिग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा हुँदै छ ।
यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए ।
उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए । उनको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रूपमा भएको थियो । उनले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको सङ्कल्प लिई लागिपरेका थिए ।
उनी एक राजनीतिक क्रान्तिकारीको साथै अथक समाजसेवी, शिक्षाविद् समेत थिए । उनले समाजशास्त्रीय महत्वका पुस्तकहरू पनि छोडेर गएका छन् । उनले बहुआयामिक रुपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेका छन् ।
प्रस्तुत स्मृतिग्रन्थ उनको एकल जीवनको गाथामात्र नभएर उनको पुस्ताको एक ऐतिहासिक झाँकी पनि हो । काठमाडौँमा सम्पन्न कार्यक्रम पछि उनको गृहजिल्ला तनहुँको सदर मुकाम दमौलीमा पनि कृति परिचर्चा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट यही माघकै २४ गते सम्पन्न हुने छ । उनको देहावसान २०७५ भाद्र महिना १८ गते कलेजोको क्यान्सर रोगको कारणले काठमाडौँको मोडल हस्पिटलमा उपचारको क्रममा भएको थियो ।