काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएको प्रति चासो राख्नु भएको छ । सोमबार शीतल निवासमा संघीय संसद्मा रहेका दलहरूलाई बोलाएर संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गर्नु भएको छ ।
माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरू उपस्थित थिए ।
नेताहरूलाई सम्बोधन गर्दै गर्दै राष्ट्रपति पौडेलले संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको र विश्व समुदायले पनि संविधानको प्रशंसा गरेको बताउनु भयो । तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको बताउनु भयो ।
संविधान कार्यान्वयन गर्न छिटो कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गर्नुपर्ने उहाँले बताउनु भयो । नेपाली जनता कहिल्यै पछाडि फर्कन नचाहने बताउँदै राष्ट्रपति पौडेलले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको चाहना पूरा गर्न सबै मिलेर प्रण गर्नु पर्ने बताउनु भएको छ ।
पौडेलले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनिधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताउनु भएको छ ।




















