काठमाडौं । आजभोलि महिलाहरुमा पाठेघरको समस्या दिनानुदिन बढ्दै गईरहेको छ । अस्वस्थकर खानपिन, वंशाणु, हर्र्मोन आदिले गर्दा अस्पतालमा पाठेघर सम्बन्धि समस्याको उपचारका लागि लामो लाईन हुने गरेको छ । समुदायमा जनचेतनाको कमी, ग्रामीण क्षेत्रको अस्पतालमा आधुनिक उपकरणको कमी, दक्ष चिकित्सकको कमी लगायतले गर्दा पनि पाठेघर सम्बन्धि समस्याको दिगो समाधान हुन सकिरहेको छैन । साथै, प्राय महिलाहरुले नै अरुलाई भन्न लजाउने र रोग जटिल नभएसम्म अस्पताल नजाने प्रवृत्तिले पनि समस्या झनै विकराल हुँदै गईरहेको छ । प्रायः विवाहित महिलामा देखिने पाठेघरको समस्या आजभोलि बद्लिँदो रहनसहनले गर्दा अविवाहित महिलाहरुमा पनि देखिन थालेको छ । फलस्वरुप, उनीहरुमा महिनावारी गडबडी हुने, बच्चा नबस्ने लगायतको समस्या देखिन थालेको छ ।
यसै सम्बन्धमा, जनसमुदायमा चेतना अभिवृद्धि गर्न ल्याप्रोस्कोपी सेन्टर नेपाल प्रा. लि.को आयोजना एवं पिबि नेपाल प्रा.लि., होप र्फटिलिटी सेन्टर एवं ब्लुक्रस हस्पिटलको सहकार्यमा नेपालमै पहिलो पटक एक दिने बृहत् स्वास्थ्य सम्बन्धि जानकारीमूलक सन्देश सहित नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन ‘1st International Project Pelvis Conference Nepal’ सम्पन्न भएको छ ।
शनिवार, द एभरेष्ट होटल, काठमाडौंमा सम्पन्न भएको सम्मेलनमा भारतका प्रख्यात स्त्रीरोग एवं आई.भि.एफ. विशेषज्ञहरु डा. जय मेहता, डा. राजेश करोडिया, डा. जतीन शाह, डा. संकेत पिसत, डा. सचिन दलाल र डा. अल्का कृपलानीले विभिन्न शीर्षकमा बोल्दै कसरी यस समस्यालाई न्यूनिकरण गर्न सकिन्छ भनेर आफ्नो अनुभव साझा गर्नुभएको थियो भने नेपालका प्रख्यात स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरु डा. रंगिना लाईकंगबम र डा. स्वस्ती शर्माले नेपालमा स्त्रीरोग तथा प्रसूती रोगको अवस्था र विना चिरफार गरिने उपचार पद्धती अर्थात् ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपीको फाईदाहरु सम्बन्धि विस्तृत छलफल गरेका छन् ।
नेपालका २०० भन्दा बढी प्रख्यात स्त्रीरोग, निसन्तान तथा प्रसुति चिकित्सकहरुको उल्लेखिय उपस्थिति रहेको सम्मेलनले थप नयाँ कुरा सिक्न अवसर प्रदान गरेको छ भन्ने विश्वास राखिएको छ । साथै, २५ भन्दा बढी विभिन्न कम्पनीका स्टल सहितको उल्लेखनीय सहभागीता थियो ।



















