काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ उपत्यकाको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आजदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले उक्त क्षेत्रका फिडरहरूबाट बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने जनाएको छ ।
प्राधिकरणका अनुसार शनिबार आलोकनगर मार्ग, नापी विभाग एरिया र आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । मंसिर १३ गते शंखमूल मार्ग, एभरेष्ट हस्पिटल र मुक्ति टावर क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
यस्तै, मंसिर १४ गते अल्फाबिटा, बुद्धनगर, विजुली बजार एरिया र मंसिर १५ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ वडा कार्यालय एरिया, तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत अवरुद्ध हुने उल्लेख गरिएको छ ।




















